९ जेठ,सुखड : कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज तेह्र दिनमा बिहान र दिउँसो गरी ‘ए’ डिभिजनका एक खेल र ‘वि’ डिभिजनका दुई खेलहरू भएका छन् ।
बिहान भएको पहिलो ‘वि’ डिभिजनको खेल धनगढी युवा क्लब धनगढी र नैनादेवी युवा क्लब धनगढी बिच भएको थियो । निर्धारित समयमा नैनादेवी युवा क्लब धनगढीले २ गोल हान्न सफल भयो भने धनगढी युवा क्लब धनगढीले १ गोल मात्र फर्काउन सक्यो । उक्त खेलको म्यान अफ द म्याच भने नैनादेवी युवा क्लब धनगढीका खेलाडी आसान चौधरी घोषित भएका थिए ।
त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो ‘ए’ डिभिजनको खेल हिमालय युवा क्लब भजनी र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा हिमालय युवा क्लब भजनीले २ गोल प्रहार गर्दे बिहानी युवा क्लब भजनीलाई हराएको छ । निर्धारित खेल समयमा बिहानी युवा क्लब भजनीले गोल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच हिमालय युवा क्लब भजनी खेलाडी उमेश चौधरी घोषित भएका थिए ।
आजै भएको दिउँसो तेस्रो ‘वि’ डिभिजनको खेल मङ्गल युवा क्लब गौरीगंगा र हसनपुर युवा क्लब धनगढी बिच भएको थियो । मङ्गल युवा क्लब गौरीगङ्गाले १ गोल प्रहार गर्दे हसनपुर युवा क्लब धनगढीलाई हराएको छ । निर्धारित समयमा हसनपुर युवा क्लब धनगढीले गोल फर्काउन सकेन । यो खेल सँगै मङ्गल युवा क्लब गौरीगङ्गाले ‘वि’ डिभिजन लिगको उपाधि चुम्न सफल भएको छ । उपाधिको लागी मङ्गल युवा क्लब गौरीगंगा र हसनपुर युवा क्लब धनगढी खेल भएको थियो । उपाधि जिते सँगै मङ्गल युवा क्लब गौरीगंगा ‘ए’ डिभिजनमा बढुवा भएको छ । उपाधि जितेको ट्रफि र नगद ५० हजार जेठ १२ गते मात्रै वितरण गरिने बताइएको छ । उक्त खेलको म्यान अफ द म्याच भने मङ्गल युवा क्लब गौरीगङ्गाका खेलाडी अजित चौधरी घोषित भएका थिए ।
वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।