कैलाली जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

२७ असार, धनगढी  :  कैलाली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

बुधवार औपचारिक कार्यक्रम गरेर कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। नियमित खोपको सुदृढीकरण गरी राष्ट्रिय खोप तालिका अनुसार प्रदान गरिने सबै खोपहरू सबै बालबालिकाहरूले पूर्ण रुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।

कैलालीका १२६ वडा र १३ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा पश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। वि.स. २०३४ देखि विफर उन्मुलन भए पश्चात् नेपालमा खोप कार्यक्रम विस्तारित खोप कार्यक्रम सञ्चालित भएको थियो। नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोग विरुद्ध तथा गर्भवती महिलाका लागि टीटी खोप लगाउने गरिएको छ।

कैलाली जिल्लाका १३ स्थानीयमा १६३ वडा रहेमा ३४७ खोप केन्द्रमा ३८१ खोप सेसन चलाइएको थियो । कैलालीमा ५ अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, ८५ वटा आधारभूत स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य केन्द्र रहेका छन । भने १२ वटा सामुदायिक स्वास्थ्य इकाइहरु रहेका छन । २०७८ को जनगणनाअनुसार कैलालीको जनसंख्या ९ लाख २६ हजार ८८८, १ वर्षमुनिको जनसंख्या १३ हजार ७५१ रहेको छ । १२ देखि २३ महिनाको जनसंख्या १३ हजार ८०९ र गर्भवती महिलाको संख्या १७ हजार ४४६ रहेको छ ।

कैलाली जिल्लालाई पहिलोपटक २०७४ मंसिर २६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसपछि २०७८ बैशाख मसान्तमा जिल्लाका १० स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएकोमा २०७९ असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो । यस वर्ष असार २६ गते सम्ममा सबै पालिकालाई पूर्ण खोप घोषणा गर्दै आज (बुधवार) जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया