धनगढी । कैलाली उद्योग बाणिज्य संघले कैलाली जिल्लाको कमाण्ड समाल्न आएको नयाँ सुुरक्षा प्रमुखहरुलाई स्वागत गरेको छ । आज मंगलवार संघको कार्यालयमा नेपाल प्रहरीका कैलाली प्रमुख पदम बहादुर बिष्ट,शसस्त्र प्रहरी प्रमुख दल बहादुर पाण्डे र राष्टिय अनुसन्धानका प्रमुख मोहन कुँवरलाई स्वागत गरेको हो । कैलालीमा सरुवा भई आएका सुरक्षा निकायका प्रमुखलाई कार्यालय मै आमन्त्रण गरेर बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतका पदाधिकारीले स्वागत गरेका हुन् ।
उद्योग बाणिज्य संघले कैलालीमा सरुवा भएर आउने नयाँ सुरक्षा प्रमुखहरुलाई स्वागत गर्दै आएको छ । स्वागत कार्यक्रमलाई बाणिज्य संघले परम्पराको रुपमा अगाडी बढाएको छ । यस अघिका कैलाली प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान प्रमुखको सरुवा पछि सो जिम्मेवारी समाल्न कैलाली आएका तिनै जना प्रमुखलाई एकैसाथ स्वागत गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले कैलाली जिल्ला खुला सिमानाका कारण लागुऔषधको इपिसेन्टर बन्दै गएको बताए । सुदूरपश्चिम प्रदेश कै सबैभन्दा बढि जनसंख्या भएको जिल्ला समेत भएकाले चुनौती र अवसर दुवै भएकाले सुरक्षा निकायले समन्वय गरेर लैजानु पर्ने बताए । उनले उद्योग बाणिज्य संघले सुरक्षा निकायलाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी प्रमुख दल बहादुर पाण्डेले लागु औषध र अवैध तस्करी नियन्त्रणका लागि प्रतिवद्ध रहेको बताए । कैलालीमा अवैध तस्करी र लागुऔषध भयावह अवस्थामा रहेकाले कडारुपमा प्रस्तुत भएर नियन्त्रणका लागि काम गर्ने बताए । सिमा नाकामा अवैध तस्करी र लागुऔषध नियन्त्रणमा व्यावहारिक पक्ष हेर्दा नियन्त्रण गर्न नसकिने भएकाले नियम अनुसार कडाई गरिने प्रमुख पाण्डेको भनाई छ ।