कैलालीस्थित अभय आरण्य क्षेत्रमा पाइने चरालाई स्थानीय नामबाट चिनाउने प्रयास

२असोज,धनगढीः कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चरालाई स्थानीय नामबाट चिनाउने प्रयास गरिएको छ । यहाँ पाइने ३८० प्रजातिका रैथाने तथा आगन्तुक चरालाई थारू भाषाको नामबाट चिनाउने जमर्को गरिएको छ ।

‘घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू’ नामक पुस्तकमा यहाँ पाइने चराको अङ्ग्रेजी, वैज्ञानिक, नेपाली नामका साथसाथै स्थानीय थारू भाषाको नाम पनि उल्लेख गरिएको छ । घोडाघोडी चरा अभय आरण्य क्षेत्र आसपास बसोबास गर्दै आएका स्थानीय जनकलाल चौधरी, बुद्धिप्रकाश, तिलक राम, सीताराम चौधरी र टेङ्गना डङ्गौराको सहयोगमा चराको नाम थारू भाषामा समावेश गरिएको हो ।

चरा संरक्षणकर्मी एवं अनुसन्धानकर्मी दयाराम चौधरी, हिरुलाल डङ्गौरा र राजीव चौधरीद्वारा लिखित पुस्तकमार्फत बहुभाषामा चरा चिनाइएको छ । जल, जङ्गल, जमिनसँग सामीप्य भएको थारू समुदायले चराचुरुङ्गीदेखि वन्यजन्तुलाई स्थानीय नामबाट चिन्दै आएका छन् । थारू भाषामा केही चराचुरुङ्गी र वन्यजन्तुको नाम नेपाली नामसँग मिल्ने गरे पनि धेरैजसोको नाम फरक हुने गरेको छ । चराको अङ्ग्रेजी, वैज्ञानिक र नेपाली नाम विज्ञहरूका लागि महत्वपूर्ण रहने गर्दछ तर स्थानीयस्तरमा सचेतनामूलक काम गर्दा स्थानीय नाम आवश्यक पर्दछ ।

उष्ण तथा उपोष्ण सदावहार वनजङ्गलले भरिएको यो क्षेत्रमा जाडोयाममा दुई हजारको सङ्ख्यामा साइबेरिया, मङ्गोलियालगायतका स्थानबाट विभिन्न प्रजातिका चरा आउने गर्छन् । पियरठोरही बक्टी (नादुन हाँस), गड्गेर्रा (हरिहाँस) र तलमुर्गी (बगाले सिमकुखुरा) ताल क्षेत्रमा मात्रै प्रजनन गर्छन् ।

चराका बारेमा सजिलै गरी ज्ञान फैलाउन स्थानीय भाषाको नाम पहिलो पटक पुस्तकमा राखेको लेखक एवं चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । छ हजार ८३९.६३ हेक्टर क्षेत्रफलमा फैलिएको यस आरक्षमा ठुला साना गरी २४ वटा ताल रहेका छन् ।

तपाईको प्रतिक्रिया