कैलालीमा बुहारीको हत्या गरेर जंगलमा गाड्ने सासू–ससुरासहित ३ जना पक्राउ

२८ जेठ, धनगढी  :  सामुदायिक वनमा शव गाडेको अवस्थामा भेटिएकी कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बुढाको हत्या गरेर जंगलमा शव गाडेको अभियोगमा उनकै सासु ससुरासहितका तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा मृतकका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाई नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयबिर बुढा रहेका छन् ।

बुढा दम्पत्तीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव स्थानीय जंगलमा गाडेको र ज्वाई नाता पर्ने जयबिरले उनीहरुलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा १८ जेठमा पारिवारीक विवादका क्रममा कविताका ससुरा डिल्लीले भान्सा कोठामा रोटी पकाइरहेको अवस्थामा चिरपटले प्रहार गरेर बुहारीको हत्या गरेकोे देखिएको प्रहरीले जनाएको छ ।

बुहारीको हत्या गरेपछि डिल्लीले श्रीमतीको सहयोगमा शव डोकोमा हालेर घर भन्दा करीब ३ किलोमिटरको दुरीमा रहेको गौरीगंगा नगरपालिका–१ को केदारेश्वर सामुदायिक वनमा ८ फिट गहिरो खाल्डोमा गाडेका थिए । बुहारीको हत्या गरेर खाल्डोमा गाडेपछि हराएको भन्दै प्रहरीमा निवेदन दिएर उनीहरु फरार भएका थिए ।

२२ जेठसम्म कञ्चनपुरको बिचफाँटास्थित आफन्तको घरमा बसेका उनीहरुलाई प्रहरीले शनिबार भने घर ठेगानाबाटै पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बुढाका श्रीमान विगत एक वर्षदेखि अर्को विवाह गरेर भारतमा बस्दै आएका छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया