कैलालीमा पहिलो पटक समलैंगिक विवाह दर्ता

धनगढी । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका १ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकामा उनीहरूको विवाह दर्ता भएको हो ।

समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थिएन । पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मलिनाले शनिवार धनगढीमा खुसी साटिन् ।

‘हाम्रो विवाह भएको चार वर्ष भइसकेको थियो । थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ उनले भनिन् ‘गाउँपालिकामा हाम्रो विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ ।’ यो बिचमा परिवार र समाजबाट आफूहरूले धेरै समस्या झेलेको भए पनि अहिले दुवै परिवारले राम्रो व्यवहार गर्ने गरेको उनले बताइन् । उनले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई समाजमा खुल्न समेत गारो भइरहेको बेला समलिङ्गी विवाह दर्ता गर्ने कुरा ठुलो उपलब्धि रहेको बताए ।

महिनाका श्रीमान् प्रकाश चौधरीले पनि आफूहरूले ठुलो समस्या झेल्दै विवाह दर्ता सम्म पुगेको बताए । ‘हामीले यो बिचमा धेरै तिरस्कार सहनु पर्‍यो ’ उनले भनिन् ’अहिले सबैले बिस्तारै बुझ्दै जानु भएको छ हामी खुसी छौँ । ’

उनीहरूले समलिङ्गी विवाह पछि अब धर्म सन्ताका विषयमा पनि सहज गरिनु पर्ने बताएका थिए । विवाह दर्ता पनि अब कानुनी रूपमै आफूहरू पति पत्नी भएको भन्दै उनीहरूले पनि अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनु पर्ने बताएका थिए ।

निलहिरा समाजकी अध्यक्ष पिंकि गुरुङले समलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन् ।उनले विभिन्न कारणबाट अहिले सम्म ७१ जनाले आत्महत्या गर्नु परेको तथ्याङ्क सुनाइन् । ती मध्ये अधिकांशलाई समाज र परिवारबाट सहयोग नमिलेको उनको भनाइ थियो ।

निलहिरा समाजकी अध्यक्ष सुदूरपश्चिम समाजकी अध्यक्ष लगायतले दम्पतीलाई बधाई तथा शुभकामना दिएका थिए । यस अघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो । त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश बोकेर कानुनी रूपमा ’दर्ता विवाह’ गर्नका लागि पाण्डे र गुरुङ जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर अदालतले विवाह दर्ता गर्न नमानेपछि पाण्डे र गुरुङ उच्च अदालत पाटन पुगेका थिए । त्यहाँबाट पनि उनीहरूको पक्षमा दर्ता विवाहका लागि आदेश आएको थिएन । त्यसपछि उनीहरू स्थानीय तहमा गएका हुन् । जहाँ उनीहरूको विवाह दर्ता गरिएको हो ।

समलिङ्गी विवाहका रूपमा प्रकाश र मलिनाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको निलहिरा समाजकी अध्यक्ष पिंकि गुरुङले बताइन् ।

तपाईको प्रतिक्रिया