कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्करदत्त अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार दुई सय ८० मेट्रिकटन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा यस वर्ष छ हजार चार सय ६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार एक सय ९२ मेट्रिकटन मकै उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय २७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।