धनगढी, मंसिर १३ । कैलालीका विभिन्न स्थानहरुमा भारतीय नाकाहरुबाट प्रहरीले भन्सार छली गरी ल्याएको ६ लाख मूल्य बढीका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले अन्दाजी ६ लाख दुई हजार ६५० रुपैयाँ बराबरको अबैध मालसामानहरु फेलापारी बरामद गरेको हो ।
प्रहरीले धनगढी उपमहानगरपालिका स्थित आदर्श चोक र त्रिबेणीघाटबाट अन्दाजी ३२ हजार ७५० मूल्य बराबरको माछा, चिनि, प्याज र किराना सामान बरामद गरेको छ ।
गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाडाबाट अन्दाजी दुई लाख ३१ हजार ८०० मूल्य बराबरको कपडा फेला पारेको छ भने कैलारी गाउँपालिका वडा नं. ५ मनिकापुरबाट अन्दाजी एक लाख ९५ हजार ५०० मूल्य बराबरको ईनभटर, ब्याट्री, कपडा र नाईलन रसी फेला पारेको प्रहरीले जनाएको छ ।
यसैगरी टिकापुर नगरपालिका वडा–८ बेलुवाबाट अन्दाजी एक लाख आठ हजार ४०० मूल्य बराबरको तेल, मोजा, छिद्रा माछा र मम्फली बरामद गरिएको छ ।
भजनी नगरपालिका स्थित काँडा र पहलवानपुरबाट अन्दाजी ३० हजार २०० मूल्य बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा बरामद गरिएको छ भने जोशिपुर गाउँपालिका–३ फाडियाबाट अन्दाजी चार हजार मूल्य बराबरको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।