कैलालीबाट साढे सात लाख मूल्य बढीका भन्सार छलीका सामान बरामद

धनगढी, मंसिर ८ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले कैलालीका विभिन्न स्थानबाट साढे सात लाख मूल्य बढीका भन्सार छलीका सामान बरामद गरेको छ ।

भारतीय नाकाहरुबाट भन्सार छली गरी ल्याएका सात लाख ७२ हजार ६०७ रुपैयाँ बराबरको अबैध मालसामानहरु फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी तीन लाख ५६ हजार ५३५ रुपैयाँ बराबरको लेमिलेसनको मेसिन, श्रृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनि र त्रिपाल फेला पारेको जनाएको छ ।

गोदावरी नगरपालिका वडा नं. ४ वनदेबीबाट अन्दाजी तीन लाख ३८ १७२ रुपैयाँ बराबरको कस्मेटिक सामान र कपडा बरामद गरिएको छ ।

भजनी नगरपालिका स्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार २०० रुपैयाँ बराबरको सुर्तिजन्य पदार्थ, किराना सामान र साईकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै टिकापुर नगरपालिका वडा नं. ९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७०० रुपैयाँ बराबरको चिनी बरामद गरिएको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया