धनगढी, पुस ७ । कैलालीबाट आधा किलो सुन जस्तो देखिन बस्तुसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको गाडीबाट ५४९ दशमलव २ सय ग्राम सुन जस्तो देखिने बस्तुसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० फेला पारेको जनाएको छ।
गाडीका चालक भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइएको छ।
चेकजाँचका क्रममा बरामद गरिएको सुनसहितको सामान र गाडी र त्यसमा सवार दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको वस्तु सुन होकी होइन भन्ने विषयमा चेकजाँचपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।