कैलालीको स्याउलेमा शारदा फुटबल लिग हुने

धनगढी, मंसिर २६ । कैलालीको गोदावरी-८, स्याउलेमा सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

शारदा विद्या निकेतनको आयोजना तथा व्यवस्थापनमा हुने यो प्रतियोगितामा प्रदेशभरका कक्षा १० सम्मका १६ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा आयोजक विद्यालयले टिम दर्ताका लागि आह्वान गरेको छ। लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद पुरस्कार, ट्रफी, र मेडल प्रदान गरिनेछ।

प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा रहेका प्रतिभाशाली उमेर समूहका खेलाडीहरूलाई उजागर गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि तयारी तीव्र रूपमा अघि बढाइएको र प्रतियोगिता स्याउले बजारमै सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

यो प्रतियोगिताले सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूको खेलकुदमा रुचि जागृत गराउनुका साथै उनीहरूको प्रतिभा प्रदर्शनको माध्यम प्रदान गर्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया