धनगढी, कार्तिक २९ । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काँग्रेस कैलालीको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालिन प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि उक्त पद रिक्त छ । आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन् । उनी नेपाली कांग्रेसबाट दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित भएकी थिइन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।