कैलालीको जालपादेवीमा ५ अर्बकाे लगानीमा केबलकार निर्माण कार्य सुरु

३ बैशाख, कैलाली : कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरेका हुन्।

रु पाँच अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ ।

शुभारम्भको अवसरमा अध्यक्ष ढकालले प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ लगानी गर्ने उद्देश्यले केबलकार निर्माण सुरु गरिएको बताए ।

केबलकार निर्माणका लागि आवश्यक उपकरण अष्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ ।

आयोजनाको ‘राइट अफ वे’ मा पर्ने रुख कटान कार्य पनि सुरु गरिएको हो । आयोजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख छन् । केबलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको बताइएको ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया