कैलालीका १३ स्थानीय तह मध्यमा १२ ले ल्याए साढे १० अर्बको बजेट, कुन पालिकामा कति ?

११ असार, धनगढी : कैलालीका १२ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। तर लम्कीचुहा नगरपालिकाले भने बजेट ल्याउन सकेकाे छैन् ।

कुल १३ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्। असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार १२ स्थानीय तहले निर्धारित समयमै बजेट ल्याएका हुन्। लम्कीचुहा नगरपालिकाले भने नीति तथा कार्यक्रम र बजेट प्रयोजनका लागि असार २५ गते नगर सभा बोलाएको छ।

एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा लम्कीचुहा बाहेकका पालिकाले अगामी आर्थिक वर्षका लागि साढे १० अर्ब बराबरको बजेट ल्याएका छन् ।

मोहन्याल गाउँपालिकाले ६ असारमा, धनगढी उपमहानगरपालिकाले ७ असारमा, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकाले ९ असारमा नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए । गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र चुरे गाउँपालिकाले भने सोमबार मात्र सार्वजनिक गरेका हुन् ।

कुन स्थानीय तहले कति ल्याए बजेट ?

कैलालीमा आगामी आर्थिक वर्षका लागि सबभन्दा धेरै धनगढी उपमहानगरपालिकाले बजेट ल्याएको छ। ११औँ नगर सभा बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले २ अर्ब १८ करोड ८२ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।

उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को भन्दा २५ करोड ७४ लाख ८ हजार २ रुपैयाँले बढी बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि कूल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ बराबरको बजेट ल्याएको थियो। उपमहानगरपालिकाले चालुतर्फ १ अर्ब २० करोड र पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख बजेट विनियोजन गरेको छ।

३६ करोड ७६ लाख आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ। गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ। गोदावरीले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट ६१ लाख ५ हजार रुपैया कम ल्याएको छ। घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार, गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख, टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख र भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजारको बजेट ल्याएको छ।

बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाख, कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख, जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख, जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख, मोहन्याल गाउँपालिकाले ५३ करोड ८८ लाख र चुरे गाउँपालिकाले ४८ करोड ६४ लाख बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएकामध्ये धनगढी उपमहानगरपालिका र मोहन्याल गाउँपालिकाले सभाबाट समेत पारित गरिसकेका छन् भने अन्य स्थानीय तहले छलफलपछि पारित गर्नेछन्।

तपाईको प्रतिक्रिया