धनगढी, कार्तिक २६ । कृषि ज्ञान केन्द्र कैलालीले यस वर्ष यहाँका किसानहरुलाई ५० प्रतिशत अनुदानमा तीन सय क्विन्टल गहुँको स्रोत बिउँ वितरण गर्ने तयारी गरेको छ ।
गत वर्ष गहुँको अढाई सय क्विन्टल स्रोत बिउँ वितरण गरेको कृषि ज्ञान केन्द्रले यस वर्ष ५० क्विन्टल बिउँ बढाएर किसानहरुलाई बितरण गर्न लागेको हो । जसका लागि कृषि ज्ञान केन्द्रले किसानहरुबाट आवेदन माग गरिसकेर छनोटको तयारी गरेको कृषि ज्ञान केन्द्र कैलालीका कृषि अधिकृत रामनारायण चौधरीले जानकारी दिए । उनका अनुसार गहुँको स्रोत बिउँका लागि ५३ आवेदन दर्ता भएका छन् ।
गत वर्ष गहुँको स्रोत बिउँका लागि आवेदन दिएका किसान, किसान समूह, कृषि सहकारीमध्ये विभिन्न ३८ आवेदक छनोट गरी बिउँ बितरण गरिएको थियो । कृषि ज्ञान केन्द्रले अहिलेसम्म कृषि सहकारी तथा कृषक समूहलाई बढीमा २५ विगाहसम्मको लागि प्रति बिगाह ८० देखि एक सय किलोसम्म बिउँ उपलब्ध गराएको छ ।
गहुँको स्रोत बिउँ अनुदानमा लिएर कम्तीमा १० कट्टा जमिनमा खेती गनुपर्ने सीमा तोकिएको छ । जति धेरै बढी क्षेत्रफलमा स्रोत बिउँ लगाउन सकिन्छ पछि त्यति नै राम्रो उन्नत बिउँ उत्पादन हुने गरेको कृषि अधिकृत चौधरीको भनाइ छ ।
गहुँको स्रोत बिउँबाट उत्पादित गहुँलाई पछि किसानहरुले आफ्नै तरिकाले बिउँको रुपमा प्रयोग गर्न सक्छन् । यसरी उत्पादित गहुँ किसानहरुले आफै कृषि सहकारीहरुलाई बिक्री गर्न सक्छन् । पछि सहकारीले सोही गहुँ ट्याग लगाएर बिउँको रुपमा बिक्री गर्छन् । यो गहुँ किसानहरुले मिलमा भने बिक्री गर्न पाउँदैनन् ।
कृषि ज्ञान केन्द्रले गत वर्ष बिजय, बाडगंग, नेपाल– ९७१, बोलग २०–२०, बिएल–४३४१ र जिंक–१ बितरण गरेको थियो । यो वर्ष पनि सोही बिउँ किसानहरुलाई बितरण गर्न लागिएको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष किसानहरुले एक बिगाहबाट करिब २० क्वीन्टल गहुँ उत्पादन गरेका थिए । कैलालीमा ३७ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ ।