६ असार, धनगढी : मंगलबार बझाङमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढीको कर्भड हलमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले मन्त्री सिंहको निधनमा कर्भड हलमा श्रद्धाञ्जली सभा आयोजना गर्दै श्रद्धाञ्जलीका लागि पार्थिव शरीर कर्भड हलमा राखेको छ ।
सिंहको पार्थिव शरीरमा पुष्पगुच्चा अर्पण गर्दै प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि हेलीकोप्टरमार्फत बझाङ लगिनेछ ।
मन्त्री सवार आन्तरिक मामिला मन्त्रालयको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदास्यूँ गाउँपालिका–१ को झारछडामा मंगलबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा मंगलबार साँझ कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो ।
दुर्घटनामा उनकी धर्मपत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको पनि मृत्यु भएको थियो भने सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र गाडी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।