कलेजमा विशेषज्ञ सुविधा नभएपछि गेटा मेडिकल कलेजमा डाक्टर केसीलाई सत्याग्रह गर्न रोक

धनगढी । धनगढीको गेटा मेडिकल कलेजको सञ्चालनसहित पुराना मागको कार्यान्वयन सहित सत्याग्रह बस्न आएका डाक्टर गोविन्द केसीले मेडिकल कलेजबाटै सहयोग पाएनन् ।

आज (शुक्रबार) साँझ मेडिकल कलेजमा सत्याग्रह बस्ने तयारी गरेका डाक्टर केसीलाई अस्पतालमा विशेषज्ञ सुविधा नभएको भन्दै धनगढीमै अनसन बस्न सुझाव दिइएको हो ।

मेडिकल कलेजमा विशेषज्ञ सेवा नभएपछि जोखिम आउँदा उपचार हुन नसक्ने भनेपछि उनलाई धनगढी पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यहाँ अनसन बस्न नपाएपछि डाक्टर केसी धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कृष्ण मन्दिरको आवास गृहमा सत्याग्रह शुरु गर्ने तयारीमा छन् ।

उनका निकट डाक्टर अमृत जोशीले भने –‘गेटा मेडिकल कलेजमा सत्याग्रह बस्न नमिलेपछि कृष्ण मन्दिर निवासमा शुरु गर्ने तयारी छ ।’

डाक्टर केसीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई प्रमुख मागका रुपमा अगाडि सारेका छन्। केसीले विज्ञप्ति गर्दै सार्वजनिक गरेका २ बुँदे मागको पहिलो बुँदामा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताइएको छ। केसीको मागको पहिलो बुँदामा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याइयोस्।’

डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित रहेर यसअघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई दोस्रो मागका रुपमा अगाडि सारेका छन्। डा केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया