कर्णाली–चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास

धनगढी, पुस १३ । कैलालीको कर्णाली–चिसापानीमा निर्माण हुन लागेको जालपादेवी केबलकारको शनिबार परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले शिलान्यास गरेकी छन् ।

लम्की–चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा एक विशेष कार्यक्रमकाबीच मन्त्री राणाले शिलान्यास गरेकी हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री डाक्टर देउवाले जालपादेवी केबलकारले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन्। उनले आयोजनालाई समयमै सम्पन्न गर्न सबैलाई आवश्यक सहयोगको अपिल गर्दै सुदूरपश्चिममा पर्यटन पूर्वाधार विकासमा थप लगानी गर्न आग्रह गरिन्।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको कमी रहेको भन्दै यस्ता परियोजनामा निजी क्षेत्रको लगानी अपरिहार्य भएको बताए । उनले वन विकासलाई बाधक नभई सहयोगी बनाउन स्वदेशी स्रोतको उपयोगमा जोड दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस परियोजनाले साहसिक, धार्मिक, र मनोरञ्जन पर्यटनलाई बढावा दिने बताए । उनले प्रदेश सरकारले लगानीकर्तालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो परियोजनाले नेपालको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले पर्यटन पूर्वाधारमा लगानीले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, र आर्थिक समृद्धिमा योगदान पुगाउने बताए ।

केबलकार ३ दशमलव १ किलोमिटर लामो बन्ने छ । बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, र ब्याङ्क्वेट हल बन्नेछ। टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेष्टुरेन्ट, चिल्ड्रेन पार्क, र अन्य मनोरञ्जनात्मक पूर्वाधार बन्ने जनाइएको ।

 

तपाईको प्रतिक्रिया