धनगढी, मंसिर १४ । कञ्चनपुरमा श्रीमातीले श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट बस्ने जनककुमारी रानाले ४९ वर्षीय सियाराम रानाको हत्या हत्या गरेकी हुन् ।
हत्या आरोपमा प्रहरीले जनककुमारीलाई पक्राउ गरेको जनाएको छ ।
बिहीबार श्रीमानको आफ्नै घरमा हत्या गरेको अवस्थामा शव भेटिएपछि श्रीमतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।
उनकाअनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो ।
तर मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा फेला परेको थियो ।
मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।
खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।
सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।