२३ भदौ धनगढीः कञ्चनपुरमा झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो ।
स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन । एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उहाँले बताउनु भयो ।
“बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी रू ३० हजार बढी खर्च गरेर धान रोपेको थिए”, तमोलीले भने, “गए राति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ । धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ ।” पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताउनु भयो । उहाँका अनुसार पछिल्लो तीनदिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन् । “धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन”, धामीले भन्नु भयो, “खाएर खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ ।”
हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर, पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन् । खेतमा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएको, जङ्गी साउदले बताउनु भयो । हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका उहाँले बताउनु भयो ।
वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पु¥याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताउनु भयो ।