कञ्चनपुरको भीमदत्त नगरपालिकामा श्रम स्वीकृति दिन सुरु

१२ बैशाख, कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले सोमवारदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ ।
स्थानीय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ ।

भीमदत्त नगरपालिकाले २ जना स्थानीयलाई सोमबार श्रम स्वीकृत प्रदान गरेको छ । वडा नम्बर–९ निवासी आनन्द सिंह रावत र वडा नम्बर–८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले खादा ओडाएर श्रम स्वीकृत पत्र प्रदान गरेकी हुन ।

सोमवारदेखि नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोशीले बताइन । बैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

तपाईको प्रतिक्रिया