कञ्चनपुरको बेलौरीमा कुखुरासहित दुई जना पक्राउ

३१ वैशाख, धनगढी : कञ्चनपुरमा कुखुरासहित दुई जना पक्राउ परेका छन । जिल्लाको बेलौरीमा भारतबाट प्रतिबन्धित बोइलर कुखुरा ल्याउदै गर्दा दुई जना पक्राउ परेका हुन ।

शनिवार बेलौरी नगरपालिका–६ भुराकोटबाट दुई वटा मोटरसाइकलमा भारतबाट नेपाल ल्याइरहेको करिब २ क्विन्टल २० किलोग्राम बोइलर कुखुरासहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

से ५ प ८००१ नम्बरको होण्डा साइन र से ३ प ६३२५ नम्बरको बजाज मोटरसाइकलमा नेपाल भित्र्याइएको बोइलर कुखुरासहित बेलौरी नगरपालिका–७ बरैयाका ४० वर्षीय किसन राना र वडा नम्बर ४ रिछाह बस्ने ४३ वर्षीय जवाहर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका ५० हजार मूल्य भन्दा बढीका कुखुरालाई पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । बरामद गरिएको मोटरसाइकललाई त्रिनगर भन्सार कार्यालय चलान गरिदैछ ।

तपाईको प्रतिक्रिया