एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित

धनगढी । यूएईमा जारी यू–१९ एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले रोमाञ्चक खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

नेपालले सन् २०२१ यता यू–१९ एसिया कपमा जित निकाल्न सकेको थिएन । सेमिफाइनल पुग्न नसके पनि नेपालले यसपटक अपराजित यात्रा भने तोडेको हो ।

मंगलबार भएको खेलमा अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि नरेन साउदले २४, कप्तान हेमन्त धामीले अविजित २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

अफगानिस्तानका लागि खातिर खान र अल्लाह गजन्फर​ले सर्वाधिक तीन÷तीन विकेट लिए । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ३५.४ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।

उसका लागि फैजल सिन्ओजादाले ६७ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए । यस्तै, खातिर स्टानिकजाईले १५, बरकत इब्राहिमजाईले १२ र एएम गजानफरले ११ तथा नसीर खान मारुफखिलले १० रन जोडे ।

नेपालका लागि सन्तोष यादव र उनिशविक्रम सिंहले तीन÷तीन तथा कप्तान हेमन्त धामी र अभिषेक तिवारीले दुई÷दुई विकेट लिए । नेपाल र अफगानिस्तान यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका थिए ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रन तथा दोस्रो खेलमा बंगलादेशविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो ।

तपाईको प्रतिक्रिया