एसपीए कलेजको सहायक क्याम्पस प्रमुखमा उपप्राध्यापक जोशी नियुक्त

धनगढी । सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए) कलेजको सहायक क्याम्पस प्रमुखमा उपप्राध्यापक रघुनाथ जोशी नियुक्त भएका छन् ।

एसपीए कलेजमा डेढ दशकदेखि अध्यापन गर्दै आएका जोशीलाई क्याम्पस सञ्चालक समितिले शुक्रवार सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

कलेजको सभा हलमा आयोजित कार्यक्रममा प्राध्यापक तथा कर्मचारीहरूको प्रतिनिधित्व गर्दै प्राध्यापक मनोज भट्टले नव नियुक्त सहायक क्याम्पस प्रमुख जोशीलाई बधाई ज्ञापन गर्दै जोशीको कुशल नेतृत्वमा क्याम्पसको शैक्षिक उन्नति अझ बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त बधाई कार्यक्रममा मन्तव्य राख्दै कलेजका पूर्व क्याम्पस प्रमुख बुधराम चौधरीले सबै शिक्षक, कर्मचारी र विद्यार्थीका प्रिय उपप्राध्यापक जोशीले क्याम्पसमा आफ्नो अनुभव तथा कौशलले सबैलाई एक जुट गर्दै उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गर्दै आफूहरू सधैँ साथमा रहने प्रतिबद्धता जाहेर गरे ।

यस्तै, कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख योगराज उपाध्यायले आफूले एउटा बोली भन्दा पनि कर्ममा विश्वास गर्ने सहकर्मी लाई सहायक क्याम्पस प्रमुखको रूपमा पाउँदा निकै खुसी लागेको बताउँदै सिंगो क्याम्पसको उन्नयन र शैक्षिक विकासमा टेवा पुग्ने बताए ।

यसका साथै, कार्यक्रममा बधाई मन्तव्य राख्दै क्याम्पसका प्रबन्ध निर्देशक सुवाश बहादुर शाहीले सबैका प्रिय व्यक्तित्व, विगतमा प्रदान गरिएका विभिन्न जिम्मेवारीहरू समेत कुशलता पूर्वक निभाउँदै उल्लेख्य उपलब्धि हासिल गर्न सफल जोशीको उच्च मूल्याङ्कन गर्दै कलेज सञ्चालक समितिले सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको बताए । उहाँको कार्य कौशलले समग्र संस्थाको प्रतिष्ठा र शैक्षिक विकास हुनेमा विश्वस्त रहेको बताए ।

ऐश्वर्य विद्या निकेतनमा कक्षा १० सम्म अध्ययन गरेका जोशीले आईकम कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए भने संकर देव क्याम्पस काठमाण्डौंमा बिबिएस र एमबिएस टियु सेन्ट्रल क्याम्पसमा अध्ययन गरेका थिए ।

एमआरको काम गर्दै जागिरको थालनी गरेका जोशीले केएमसी, ग्यालेक्सी, लोटस, ग्वासी लगायतका कलेजहरूमा आंशिक तथा पूर्ण कालिन शिक्षकका रूपमा काम गरिसकेका छन् ।

२०६९ सालदेखि हालसम्म निरन्तर एसपीए कलेजमा पूर्ण कालिन शिक्षक, बिबिएस कोर्डिनेटरका रूपमा काम गर्दै उनी लगातार तीन वर्ष एसपीए वेस्ट टिचर अवार्डबाट सम्मानित भएका भइसकेका छन् ।

तपाईको प्रतिक्रिया