एमाले डोटीको अध्यक्षमा भीम रावल पक्षधर मलासी विजयी

काठमाडौँ, पुस २ । नेकपा एमाले डोटीको अध्यक्षमा पूर्व उपाध्यक्ष भीम रावल पक्षधर मञ्जु मलासी निर्वाचित भएकी छन् ।

एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

मलासीलाई निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य चक्र मल्लको पनि साथ रहेको बताइन्छ । निवर्तमान अध्यक्ष मल्ल पनि रावल पक्षधर मानिन्छन् ।

नेकपा विभाजन कालमा मल्ल र मलासी दुवै जना रावलसँगै तत्कालीन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा गएका थिए । पछि रावल एमालैमै रहँदा उनीहरू पनि एमालेमा रहे ।

यस पटक अध्यक्षमा निर्वाचित मलासीलाई एमाले महासचिव शंकर पोखरेलको पनि साथ रहेको डोटी एमालेमा चर्चा छ । महासचिव पोखरेल अधिवेशनको उद्घाटनका लागि डोटी पुगेका थिए ।

यस्तै उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज भट्ट, उपसचिवमा खुल्लातर्फ डम्मरसिँह डौडी, महिलातर्फ विष्नादेवी सिंह निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचितमा पनि मलासीकै प्यानल हाबी देखिएको छ ।

अध्यक्षमा निर्वाचित मलासी दिपायल सिलगढी नगरपालिकाकी पूर्व मेयर पनि हुन् ।

तपाईको प्रतिक्रिया