इजरायली आक्रमणमा हेजबुल्लाह कमान्डरसहित १४ जनाको मृत्यु

एजेन्सी । लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरसहित १४ जनाको मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुत स्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न भएको आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहेका थिए ।

दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलको बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो ।

हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेता को रूपमा प्रशंसा गरेको छ ।एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लिन रहेको देखाएको छ ।

गाजामा युद्ध सुरु भएदेखि हेज्बुल्लाहका वरिष्ठ कमाण्डरको हत्याको  भएको यो दोस्रो घटना हो । गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यस घटना लगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका थिए ।

इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ, जसमा अन्य दश जना वरिष्ठ कमान्डरहरुकोसमेत मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु  हुनुका साथै अन्य ६६ जना घाइते भएको जनाउदै मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया