धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी रबिन्द्र केसीले फुलवारीमा रहको आसरा सुधार केन्द्रमा लागूऔषध दुर्व्यवसनीलाई काउन्सिलिङ गर्न काउन्सिलर अभाव भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले बिहीबार गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी केसीले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलवारीमा निर्माण भएको आसरा सुधार केन्द्रमा लागूऔषध दुर्व्यवसनीको आत्मबल बढाउन,मानसिक रुपमा बलियो बनाउन आवश्यक पर्ने काउन्सिलर नहुदा सेवा प्रवाह गर्न नसकिएको बताए ।
उनले सम्पुर्ण पुर्वाधार तयार भैसकेको सुधार केन्द्रमा काउन्सिलर नहुदा सेवाग्राहीले हाम्रो मान्छे राखिदिनुस् भनेर आग्रह गर्दा समेत सेवा दिन नसकिएको गुनासो गरे । उनले भने, “सुधार केन्द्रमा बस्ने ,खेल्ने,खाने ,बिरामी हुदाँ उपचार गर्ने जस्ता सुविधा भएपनि मानसिक अवस्था कमजोर भएका दुर्व्यसनीको मनोबल बढाउन,आत्मा विश्वास जगाउन सहयोग गर्ने काउन्सिलर नहुदा दुर्व्यवसनीलाई तत्काल राख्न सक्ने अवस्था भएन ।”
आसरा सुधार केन्द्रका काठमाडौं र धरानका शाखामा काउन्सिलरको लागि कुरा गर्दा त्यहाँ पनि नभएको डीआईजी केसीको भनाई छ । केसीले भयावह बन्दै गएको लागुऔषध दुर्व्यसनी नियन्त्रणलाई पनि प्राथमिकता साथ गर्ने बताउँदै सबै पक्षको साथ, सहयोगको पाउनेमा आशावादी रहेको बताएका छन् ।
हालै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका केसीले शान्ति,सुव्यवस्था कायम गर्न प्रतिबद्ध रहेको बताए । केसीलाई स्वागत गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मायाको चिनो प्रदान गरेका छन् । क्षेत्रीयतावादी डीआईजी भरत बोहराको सरुवा भएपछि केसी सुदूरपश्चिम प्रदेशको प्रमुख भएर आएका हुन् । उनी प्रहरी संगठनभित्र अब्बल अधिकृतका रुपमा चिरपरिचित छन् ।