आठ दिनसम्म पनि स्वास्थ्यकर्मीका समस्या समाधानतर्फ उपमहानगरले देखाएन चासो

७ साउन, धनगढी  :  धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएको आज आठ दिन पुगेको छ । समायोजन तथा समायोजन मिलान भई कार्यरत कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाले निकास दिन सकेको छैन् ।

स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी अभाव हुँदा समेत धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले यो विषयमा अहिले सम्म स्वास्थ्यकर्मीहरुसंग छलफल गरेका छैनन् ।

धनगढी उपमहानगरपालिकाले ३३ जना स्वास्थ्यकर्मीको हाजिरी रोक्दा स्वास्थ्य सेवा प्रभावित भइरहेको स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए । उनले भने –‘कर्मचारीलाई हाजिरी गराउन नदिँदा स्वास्थ्य संस्थामा दक्ष जनशक्ति अभाव रहेको छ । अहिले खोप अभियान सञ्चालन हुँदा स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा चलिरहेको छ ।’

स्वास्थ्य संस्थामा पुग्ने सेवाग्राहीहरुले रित्तो फर्किनुपर्ने अवस्था आउँदा समेत नगर प्रमुख हमालले यस विषयको समाधान निकाल्नमा ध्यान दिएका छैनन् ।

हमालले कर्मचारीहरुलाई हाजिरी नलगाउन पत्र पठाएदेखि उनी काठमाडौंमा छन् । नगर प्रमुख नआउँदसम्म यस विषयमा छलफल अघि बढाउने नदेखिएको स्वास्थ्य महाशाखा प्रमुख अवस्थी बताउँछन् ।

हाजिरी गर्न रोकाएका स्वास्थ्यकर्मीहरु धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा आठ दिनदेखि धर्नामा छन् भने हाजिरी नरोकाइएका स्वास्थ्यकर्मीहरु आ–आफनो क्षेत्रमा खटिएका छन् । अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समस्या समाधानतर्फ ध्यान भने दिएका छैनन् ।

उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाँध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया