३असोज,धनगढीः आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
संविधान दिवसको अवसरमा आज बिहान सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा राष्ट्रप्रति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, मन्त्रीहरू, सरकारी उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहने छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।