आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक : मन्त्रीको कार्यसम्पादनबारे समीक्षा हुने

धनगढी । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि बस्दैछ । यसअघि गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकमा सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा हुनेछ । सरकार गठनको एक वर्षमा कांग्रेसका मन्त्रीले १० महिना सरकारमा बिताए पनि प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै आलोचना बढेपछि केन्द्रीय समिति बैठकमा सदस्यहरू समक्ष उपलब्धी प्रस्तुत गर्ने तयारी गरेका हुन् ।

‘एक वर्षमा सरकारमा हाम्रा मन्त्रीहरूले १० महिना बिताउनुभएको छ । यस क्रममा उहाँहरूले के–के गर्नुभयो रु उपलब्धि उहाँहरूले प्रस्तुत गर्नुहुन्छ,’ कांग्रेस प्रचार विभाग मीन विश्वकर्माले भने, ‘उहाँहरूले जानकारी गराएपछि मन्त्रीसँग केन्द्रीय सदस्यको प्रश्नोत्तर र अन्तरक्रिया कार्यक्रम चल्छ ।’

गठबन्धनको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटी अनुसारको काम नभएको गुनासो गरिरहेको विश्वकर्मा बताउँछन् ।

‘यो व्यवस्थामा सफल हुँदा प्रधानमन्त्री सफल हुने हो । तर उहाँले गठबन्धन दलका मन्त्रीको कार्यसम्पादनबाट चित्त बुझाइरहनुभएको छैन,’ विश्वकर्माले भने, ‘हुटहुटी अनुसारको काम नभएपछि प्रधानमन्त्री मन्त्रीको कामबाट सन्तुष्ट देखिनुभएको छैन ।’

सरकारको कामको समीक्षाबाहेक बैठकमा राष्ट्रिय मेलमिलाप दिवस कसरी मनाउने र महासमिति बैठकको तयारीको विषयमा पनि केन्द्रीय समितिले आवश्यक छलफल र निर्णय गर्ने जानकारी विश्वकर्माले दिए ।

तपाईको प्रतिक्रिया