आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरू

३० साउन, धनगढी : रेमिट्यान्स कम्पनी आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ भएको छ । बुधबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्

एकीकृत कारोबारको शुभारम्भ गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको बताए । उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको जानकारी दिए ।

आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए । त्यस्तै उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आईएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत जानकारी दिए ।

त्यस्तै आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक लगाएत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताए । उनले रेमिट्यान्सको भुक्तानीमा कुनैपनि समस्या आउन नदिनको लागि राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरिरहेको बताए । उनले दुई ठूला रेमिट्यान्स कम्पनी आईएमई र जीएमईबीच बुधवारदेखि संयुक्त कारोबार सुरु भएर बलियो रेमिट्यान्स कम्पनी बनेको बताए। रेमिट्यान्स कारोबार गर्दा बलियो सुरक्षा अपनाएर गर्नु मिश्रले आग्रह गरे । उनले नेपालबाट हुने हुण्डी कारोबारलाई घटाउनु पर्ने बताए । उनले दुई ठूला रेमिट्यान्स कम्पनी आईएमई र जीएमईबीचको मर्जर ऐतिहासिक भएको बताए ।

आईएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेकोमा अहिले २०० मिलियन डलरभन्दा बढी पुगेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आईएमई पहिलो बनेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

तपाईको प्रतिक्रिया