अभिनेता सलमान खानको घर बाहिर गोली चल्याे

२ बैशाख, काठमाडौँ :  बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ ।

मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ ।

गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो । सलमानको घर बाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँच गरिँदैछ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।

लरेन्स बिश्नोईले मार्च २०२३ मा सलमानलाई धम्की दिएका थिए । बिश्नोईको धम्की पछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन्।

यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ ।

तपाईको प्रतिक्रिया