अटोमा बेहोस भएका खत्रीको उपचारको क्रममा मृत्यु, चालक र अर्का सवारसहित २ जना प्रहरी नियन्त्रणमा

धनगढी, २६ पुस/धनगढीमा अटोमा सवार बेहोस भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । अटोमा सवार भएका बेला बेहोस् भएपछि उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो ।
बिहीबार शहीदगेटदेखि चौराहतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री अचानक बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार अटो चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया