अछाममा कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी

अछाम । अछाममा मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।

मासु खाएर बिरामी भएका कमलबजार नगरपालिका ९३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएका थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।

उनकाअनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति नौं वर्षीय विकास बिक बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो । मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् ।

घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया