४असोज,धनगढीः रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गृहले भिसा भएकालाई नरोकी यातायातमा सहजीकरण गर्न भनेको बताइएको छ।
“हामीलाई यातायातमा सहजीकरण गरिदिनू, भिसा भएकालाई आगमनका लागि नरोक्नू भनेर निर्देशन आयो,” प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो।
रामारोशनमा कार्यक्रमका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट छुट्टै आदेश आउने बताइएको छ। कार्यक्रम गर्न दिने आदेश आएपछि विस्तृत रूपमा कार्ययोजना बनाएर त्यसै अनुसारको सुरक्षा प्रबन्ध हुने प्रजिअ पोखरेलको भनाइ छ।
एक महिनादेखि तीन महिनासम्म करिब तीन हजार विदेशी आएर भेला गर्ने सूचनाका आधारमा स्थानीय प्रशासनले छ दिन अगाडिबाट विदेशीलाई सीमा नाकामा रोकेको थियो। विवादित ‘रेन्बो फेमिली’ ले रामारोशनमा कार्यक्रम गर्ने भनेपछि त्यसको टुङ्गो नलाग्दासम्म भन्दै विदेशीहरू पूर्वी अछामको बेलखेत एवं पश्चिम अछामको चौखुट्टे र जयगढमा रोकिएका थिए।
आएका विदेशीले नेपालको कानुनविपपरीतका काम गरेमा भने कारबाही हुने बताइएको छ। गृह मन्त्रालयले पर्यटकलाई नरोकी आवतजावतमा सहजता गर्नू भनेसँगै अछामका सीमा नाका र अन्य स्थानमा रोकिएका पर्यटकले रामारोशन जाने तयारी गरेका छन्। उनीहरूमध्ये कतिपय छ दिनसम्म सीमा नाकामा बसेका थिए।
चौखुट्टेमा २०४ जना, बेलखेतमा ४४ जना र जयगढ बजारमा पाँच जना रोकिएका थिए। यस्तै ५६ जना भने यसअघि नै रामारोशनमा पुगिसकेका छन्।