अग्नि पीडित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण

२५ भदौ,धनगढीः कैलालीको विपद् प्रभावित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण गरिएको छ । कैलारी गाउँपालिका–७ विपतपुरका अग्नि पीडित मुक्त कमैयालाई आज नयाँ घर हस्तान्तरण गरिएको हो ।

२०७९ वैशाख ११ गते आगलागी हुँदा मुक्त कमैयाबस्तीको २७ घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । पूर्ण रूपमा घर क्षति भई घरबारविहीन भएका मुक्त कमैयालाई मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले घर बनाएर हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारले बनाएको २७ वटा घर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो ।

लाभग्राही परिवारले ३८ लाख १२ हजार रुपियाँ बराबरको श्रमदान गरेका छन् । प्रत्येक परिवारका लागि ब्लक प्रयोग गरिएको दुई कोठे घर बनाइएको छ ।
एक करोड ८२ लाख १२ हजार रुपियाँ लागतमा घर निर्माण गरिएको छ । जसमा सुदूरपश्चिम प्रदेश सरकारको ९० लाख, साझेदार संस्था ह्याबिटेट फर ह्युमानिटी नेपालको ३४ लाख लगानी छ।

तपाईको प्रतिक्रिया