बजाजले धनगढीमा सार्वजनिक गर्‍यो चेतकका दुई नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २.८९ लाखदेखि

भर्खरै

धनगढी, १७ भदौ/बजाज अटोले नेपालमा विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतकका दुई नयाँ इलेक्ट्रिक स्कुटर सी २५०१ र सी ३५०३ धनगढीमा सार्वजनिक गरेको छ।
बजाजका दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडको सहकार्यमा धनगढीको बोराडाँडीस्थित जेमिनी अटोमोबाइल्स प्रालिमा आयोजित कार्यक्रममा दुवै मोडल सार्वजनिक गरिएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले विशेष कार्यक्रमका बिच दुवै मोडल सार्वजनिक गर्नुभयो ।
कम्पनीका अनुसार चेतक सी २५०१ मा २.५ किलोवाट आवरको लिथियम–आयन ब्याट्री रहेको छ। यसले एकपटकको चार्जमा एलडीसीअनुसार ११३ किलोमिटरसम्म रेन्ज र अधिकतम ६० किलोमिटर प्रतिघण्टा गति प्रदान गर्छ। फास्ट चार्जिङमार्फत शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
सी २५०१ मा ब्राइट एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले तथा पज कन्ट्रोल, रिभर्स मोड र २५ लिटरको अन्डर–सिट स्टोरेजलगायत सुविधा छन्। यसको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, चेतक सी ३५०३ मा ३.५ किलोवाट आवरको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटकको चार्जमा एलडीसीअनुसार १५९ किलोमिटरसम्म रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टा गति दिने कम्पनीको दाबी छ।
सी ३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इन्कमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ। चार रङमा उपलब्ध हुने यस स्कुटरको मूल्य ३ लाख ३१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले विद्युतीय चारपांग्रे सवारीको बजार विस्तार भए पनि दुईपांग्रे विद्युतीय सवारीको उपस्थिति तुलनात्मक रूपमा कम रहेको बताए। वातावरणमैत्री यातायातप्रति आकर्षण बढिरहेकाले विद्युतीय सवारी प्रदेशवासीको रोजाइमा पर्ने उनले विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार दुवै स्कुटर अब नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि उपलब्ध छन्। देशभर रहेको सर्भिस नेटवर्कमार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई निरन्तर सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।