सुदूरपश्चिमको मौलिक पर्व गौरा सुरु, आज बिरुडा पञ्चमी

भर्खरै

धनगढी, १६ भदौ/सुदूरपश्चिमको मौलिक एवं सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।
भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै गौरा पर्वको सुरुआत भएको हो ।
गौराको पहिलो दिन आज व्रतालु महिलाले घरमा तामाको भाँडोमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा राख्ने चलन छ । मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बनाइने बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ ।
परम्पराअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगार गरी त्यसमा बिरुडा भिजाउने गरिन्छ । बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा माङ्गलकी सगुन तथा बिरुडा भिजाउने फाग गाउने परम्परा छ ।
संस्कृतिका जानकारहरूका अनुसार गौरा पर्वमा महिलाले पुरुषले जनै लगाएजस्तै दुबधागो धारण गर्ने चलनसमेत रहेको छ । बिरुडा पञ्चमीका दिन भिजाइएको बिरुडा षष्ठीका दिन पखालिन्छ ।
गौराको सप्तमी र अष्टमीलाई विशेष दिन मानिन्छ । सप्तमीका दिन धान खेतमा धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने गरिन्छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गरी मङ्गलगानका साथ गौरा नचाउने गरिन्छ ।
गौराष्टमीमा अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथा गाएर गौरा नचाउने परम्परा छ । यही अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा, डुस्को, धमारीलगायतका सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिन्छन् ।
प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजा गर्ने परम्परा रहेको मानिन्छ । शिव–गौरीको स्थानीय लोकरीतिअनुसार पूजा–आराधना गरिने पर्वका रूपमा गौरा सुदूरपश्चिमको महत्वपूर्ण मौलिक पर्व हो ।
शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा पर्ने गौरालाई अन्यारी गौरा भनिन्छ । दुवैलाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्व दिने गरिन्छ ।