भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २५८ पुग्यो, ९१० जना अझै सम्पर्कविहीन

भर्खरै

धनगढी, ११ भदौ/रसुवाको नेपाल–चीन सीमा क्षेत्र हुँदै आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या २५८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै ९१० जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट मृत्यु भएकामध्ये धादिङका २७, नुवाकोटका १२, रसुवाका २, गोरखाका २०, नवलपरासी पूर्वका ६२, तनहुँका १२, चितवनका १०८ र नवलपरासी पश्चिमका १५ जना रहेका छन्।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका १६१ र नुवाकोटका एक जना रहेका छन्। त्यस्तै सम्पर्कविहीन विदेशी नागरिकको संख्या ५१७ र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकको संख्या १२७ रहेको प्राधिकरणले जनाएको छ। बाढीमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना छन्।


खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ९ हजार २६० सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ७४२ जना परिचालन गरिएको छ ।
हेलिकोप्टरबाट हालसम्म ३५१ जनाको उद्धार गरिएको छ भने बिहीबार मात्रै उद्धारका लागि ६९ वटा हवाई उडान भएका छन्। हवाई उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ।
यसैगरी बिहीबार जमिनबाट ९० जनाको उद्धार गरिएको छ। सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा राहत सामग्रीसहित १० ट्रक पठाइएको प्राधिकरणले जनाएको छ।सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरी बेपत्ताको खोजी र जोखिममा रहेका नागरिकको उद्धार जारी राखिएको छ।