पुस्तकभन्दा बाहिरको सिकाइ: राष्ट्रिय आधारभूत विद्यालयको ‘बुक फ्रि फ्राइडे’ ले विद्यार्थीमा बढायो व्यवहारिक ज्ञान

भर्खरै

धनगढी, ८ साउन/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित राष्ट्रिय आधारभूत विद्यालयले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत विविध व्यवहारिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै विद्यार्थीको सिकाइलाई नयाँ ढंगले अघि बढाएको छ।
शुक्रबार आयोजित कार्यक्रमअन्तर्गत विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, विद्यालय तथा आसपासका क्षेत्रमा सरसफाइ, हिज्जे प्रतियोगिता तथा अघिल्लो साताको कार्यक्रमको समीक्षा गरिएको विद्यालयले जनाएको छ।


ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको सडक सुरक्षा सचेतना कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सडक सुरक्षासम्बन्धी आधारभूत नियम, सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका र ट्राफिक अनुशासनबारे जानकारी दिइएको थियो।


‘हाम्रो धनगढी, सफा धनगढी’ भन्ने नारालाई आत्मसात गर्दै विद्यालय परिसरदेखि सत्कार चोकसम्म वृहत सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो। अभियानमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रूपमा सहभागिता जनाएका थिए।
यसैबीच, एकाइ परीक्षामा प्रत्येक विषयमा प्रथम हुने विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकले व्यक्तिगत रूपमा पुरस्कृत गरेका थिए। ‘बुक फ्रि फ्राइडे’ अन्तर्गत सम्पन्न हिज्जे प्रतियोगितामा बुद्ध सदन प्रथम भएको थियो। विजेता सदनलाई प्रदान गरिएको ट्रफी कालिका पुस्तक सदनले सहयोग गरेको विद्यालयले जनाएको छ।


विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक, सिर्जनात्मक र सहभागितामूलक सिकाइतर्फ अभिमुख गराउने उद्देश्यले गत सातादेखि ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम लागू गरेको हो।
वि.सं. २०२७ सालमा स्थापना भएको विद्यालयमा प्रत्येक शुक्रबार बिहान ६ः३० बजेदेखि १२ बजेसम्म नियमित कक्षा सञ्चालन नगरी विद्यार्थीलाई व्यवहारिक ज्ञान, परियोजनामूलक सिकाइ, स्थलगत अवलोकन, खेलकुद, हाजिरी जवाफ, स्वास्थ्य, वातावरण, कला तथा सामाजिक विषयसँग सम्बन्धित गतिविधिमा सहभागी गराइन्छ।
विद्यालयका प्रधानाध्यापक मानबहादुर साउँदका अनुसार विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी, सहभागितामूलक र व्यवहारिक बनाउन यो कार्यक्रम सुरु गरिएको हो। उहाँले पाठ्यपुस्तकबाहिरका ज्ञान र अनुभवले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता तथा समस्या समाधान गर्ने सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रधानाध्यापक साउँदका अनुसार विद्यालयले ‘बुक फ्रि फ्राइडे’ सञ्चालनका लागि छुट्टै कार्यविधि तयार गरी योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यार्थीलाई बुद्ध, भानु, पाशाङ र भृकुटी गरी चार सदनमा विभाजन गरिएको छ। प्रत्येक सदनका लागि विद्यार्थी क्याप्टेन तोकिएको छ भने शिक्षक माया कुमारी कुँवरलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ।
उहाँका अनुसार स्थलगत अवलोकन वा अन्य गतिविधिपछि विद्यार्थीले अनिवार्य रूपमा अवलोकन प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। वर्षभरि सञ्चालन हुने गतिविधिको मूल्याङ्कनका आधारमा उत्कृष्ट सदनलाई पुरस्कृत गर्ने योजना पनि विद्यालयले बनाएको छ।
हाल ५४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले ‘बुक फ्रि फ्राइडे’ मार्फत विद्यार्थीको प्रतिभा पहिचान, व्यवहारिक ज्ञान अभिवृद्धि तथा परियोजनामूलक सिकाइलाई संस्थागत गर्ने लक्ष्य राखेको जनाएको छ।